पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा गएको भीषण हिमपहिरोपछि शुक्रबार चार जनाको शव भेटिएको छ भने नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ जना आरोही अझै सम्पर्कविहीन रहेका छन्।
काराकोरम क्षेत्रमा रहेको ब्रड पिकको लोअर क्याम्प–३ भन्दा तल करिब ६,६०० मिटर उचाइमा बिहीबार बिहान गएको हिमपहिरोले विभिन्न देशका १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीलाई बगाएको थियो।
अभियान आयोजक काराकोरम एक्सपेडिसनका अनुसार टोलीका सदस्य वकार अली, नेपाली पर्वत–मार्गदर्शक सोनो शेर्पा तथा दुई स्थानीय आरोहीको सहयोगमा हिमपहिरोले सयौँ मिटर तल पुर्याएका चार जनाको शव ब्रड पिक बेस क्याम्पको विपरीत दिशामा भेटिएको हो।
उद्धार टोलीका अनुसार फेला परेका शवमध्ये एक जना ओमानकी आरोही अधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपाली पर्वत–मार्गदर्शक पूरबहादुर गुरुङ (युक्ता) रहेको अनुमान गरिएको छ। बाँकी दुई शवको औपचारिक पहिचान भने अझै हुन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।
अहिलेसम्म बेपत्ता रहेका आरोहीहरूमा पाकिस्तानका सोहेल साखी, अमेरिकाकी म्यालोरी गाइस, नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) तथा नेपाली पर्वत–मार्गदर्शक किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।
काराकोरम एक्सपेडिसनले आफ्ना दुई सदस्य पनि बेपत्ता रहेको जनाएको छ। तीमध्ये एक आरोहीको गार्मिन इनरिच स्याटेलाइट ट्र्याकरमा हिमपहिरोपछि हल्का गतिविधि (मुभमेन्ट) देखिएको जानकारी प्राप्त भएको भन्दै उद्धार टोलीले उनी जीवित हुन सक्ने आशा कायम रहेको जनाएको छ।
बेपत्ता आरोहीहरूको खोजीका लागि पाकिस्तानका चर्चित उच्च हिमाली आरोही सिरबाज खान र शहजाद करिम शुक्रबार दुई हेलिकप्टरमार्फत उद्धार सामग्री तथा अतिरिक्त अक्सिजनसहित ब्रड पिकतर्फ प्रस्थान गरेका छन्। उनीहरूले हवाई खोजी अभियान सञ्चालन गरिरहेका छन्।
उद्धार टोलीले अध्ययन गरेको ट्र्याकिङ विवरणअनुसार निर्मल पुर्जाको स्याटेलाइट ट्र्याकरले बिहीबार बिहान ९ः३८ बजे करिब ६,६५९ मिटर उचाइमा उनको अन्तिम स्थान देखाएको थियो। त्यसपछि १०ः१८ बजेसम्ममा ट्र्याकरको संकेत करिब ८०० मिटर तल ५,८९१ मिटर उचाइमा पुगेको देखिएको थियो। त्यसपछि भने ट्र्याकरबाट कुनै नयाँ संकेत प्राप्त भएको छैन।
हाल खोजी तथा उद्धार अभियान जारी रहे पनि हिमपहिरोको ठूलो परिमाण, अस्थिर हिउँ र अत्यन्तै कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको उद्धारकर्ताहरूले बताएका छन्।














