दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन खसेपछि तीन जना बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा अन्य ४० जना घाइते भएका छन्।
रुसको क्रास्नोदार क्षेत्रका गभर्नर वेनियामिन कोन्द्रात्येभका अनुसार घाइतेमध्ये १७ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनले युक्रेनले जानीजानी सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरेको आरोप लगाएका छन्। युक्रेनले भने घटनाबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा पर्यटकहरू समुद्र किनार र पानीमा रमाइरहेका बेला तीव्र गतिमा आएको ड्रोन भिरनजिक ठोक्किएर ठूलो विस्फोट भएको देखिन्छ। काला सागर नजिकैको आर्खिपो–ओसिपोभ्का गाउँ आसपासको उक्त समुद्री तट रुसी पर्यटकहरूको लोकप्रिय गन्तव्य मानिन्छ।
प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमण हुनुअघि कुनै पनि खतराको साइरन बजाइएको थिएन, जसका कारण धेरै मानिस समुद्र किनारमै उपस्थित थिए।
ड्रोनको वास्तविक लक्ष्य के थियो भन्ने अझै स्पष्ट भएको छैन। केही युक्रेनी सञ्चारमाध्यमहरूले इलेक्ट्रोनिक वारफेयर प्रणालीको प्रभावका कारण ड्रोन आफ्नो लक्ष्यमा पुग्न नसकी समुद्री किनारमा खसेको दाबी गरेका छन्। स्थानीय रुसी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले विस्फोटअघि गोली चलेको आवाज सुनिएको उल्लेख गरेको छ, जसबाट रुसी हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई खसाल्ने प्रयास गरेको अनुमान गरिएको छ।
पछिल्लो समय युक्रेनले रुसी भूभागभित्र ऊर्जा पूर्वाधार तथा सैन्य प्रयोजनका गोदामहरूलाई लक्षित गर्दै लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ। अर्कोतर्फ, रुसले सन् २०२२ फेब्रुअरीमा सुरु गरेको पूर्णकालीन आक्रमणयता युक्रेनका विभिन्न सहर र आवासीय क्षेत्रमा निरन्तर क्षेप्यास्त्र प्रहार गर्दै आएको छ।
गत शनिबार मात्रै रुसले युक्रेनको राजधानी किभमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको थियो, जसले दुई देशबीचको युद्ध अझै तीव्र बन्दै गएको संकेत गरेको छ।















