जाम्बियामा भइरहेको ‘एशियन लेजेन्ड्स लिग’ मा सहभागी भएका पाकिस्तानका एक दर्जनभन्दा बढी पूर्व क्रिकेट खेलाडीहरूलाई पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले कडा कारबाही गर्ने भएको छ।
जाम्बिया क्रिकेट युनियनले यो लिगलाई आफूले मान्यता नदिएको र यो अवैध भएको स्पष्ट पारेपछि पिसिबीले आफ्ना खेलाडीहरूमाथि प्रतिबन्ध लगाउने तयारी गरेको हो। अनुमति नलिई यो लिग खेल्ने खेलाडीहरूले निम्न सजाय भोग्नुपर्ने पीसीबीले जनाएको छ।
१. विदेशी लिगमा रोक: आगामी दुई वर्षसम्म कुनै पनि विदेशी लिग वा खेल खेल्नका लागि पिसिबीले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) दिने छैन।
२. पदमा रोक: आगामी दुई वर्षसम्म पिसिबी वा पाकिस्तान सुपर लिगमा प्रशिक्षक, सल्लाहकार, मेन्टर वा कुनै पनि जिम्मेवारीका लागि ती खेलाडीहरू अयोग्य हुनेछन्।
यो प्रतियोगिता जुलाई ३० बाट सुरु भएको हो, जसमा ‘पाकिस्तान प्यान्थर्स’ नामक टोली नै सहभागी छ। यस टोलीमा सबै खेलाडीहरू पाकिस्तानी छन्।
मोहम्मद हफिज, सोहेल तनवीर र उमर अकमल जस्ता खेलाडीहरू लिग खेल्न जाम्बिया पुगेका थिए। तर, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट अनुमति नलिएको थाहा पाएपछि उनीहरूले अन्तिम समयमा नखेल्ने निर्णय गरे।
यद्यपि, अन्य धेरै पूर्व खेलाडीहरूले भने उक्त लिगमा सहभागिता जनाइसकेका छन्।्
सहभागी अन्य टोलीहरू:
यो प्रतियोगितामा पाकिस्तान प्यान्थर्सका साथै इण्डियन रोयल्स, श्रीलंकन लायन्स, बंगलादेश टाइगर्स, अफगानिस्तान पाथन्स र एशियन स्टार्स गरी ६ टोली छन्।
यी टोलीहरूमा विभिन्न देशका खेलाडीहरू भए पनि आफ्ना खेलाडीलाई कारबाही गर्ने चेतावनी दिनेमा पाकिस्तान क्रिकेट बोर्ड मात्र पहिलो बोर्ड बनेको छ।
शर्जिल खान, कामरान अकमल, शोएब मलिक, इमरान नाजिर, सईद अजमल, यासिर शाह, मोहम्मद इरफान, हसन राजा लगायतका खेलाडीहरूको नाम लिगको सूचीमा छ।















