‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष

Image

राप्रपा महामन्त्री परित्याग गरेका पूर्वसांसद धवल शम्शेर राणा र मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईं मिलेर नयाँ पार्टी खोल्ने भएका छन् । राणा र प्रसाईं सहितले साउन २८ गते नयाँ पार्टी घोषणा गर्ने भएका हुन् । साथै सोही दिन पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी छ ।

नयाँ पार्टी खोल्नुअघि उनीहरूले तयारीका लागि विभिन्न समितिहरू गठन गरेर काम गरिरहेका थिए। सोही समितिको आज बसेको बैठकले जय नेपाल पार्टी खोल्ने निर्णय गरेको नेता नेता सगुनसुन्दर लावतीले जानकारी दिए। ‘हामी नयाँ पार्टी खोल्दैछौं, पार्टीको नाम जय नेपाल रहनेछ, साउन २८ मा निर्वाचन आयोग जाने कार्यक्रम छ,’ उनले भने।

उनकाअनुसार पार्टीको अध्यक्ष राणा रहनेछन् भने सर्वोच्च नेता प्रसाईं रहने सहमति भइसकेको छ। चुनाव चिह्नबारे भने विभिन्न विकल्पमा छलफल भइरहेकोले टुंगिन बाँकी छ। राप्रपाका महामन्त्री राणाले गत जेठ १७ गते पार्टी परित्याग गरेको घोषणा गरेका थिए। उनीसँगै राप्रपाका १८५ नेताले पनि पार्टी परित्याग गरेका थिए।

राणाले गत जेठ २२ गते प्रसाईंसँग नयाँ पार्टी खोल्ने सहमति गरेका थिए। लामो समयदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान चलाइरहेका प्रसाईं पनि नयाँ पार्टी खोल्न राणासँग सहमत भएका थिए। त्यसयता दुवै जना नयाँ पार्टी खोल्ने तयारीमा जुटेका थिए। अब तयारी पूरा भएको राणाले बताए। उनका अनुसार, पार्टी नेतृत्वबारे पनि टुंगो लागिसकेको छ।