संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार बैठक दिउँसो १:१५ बजे सिंहदरबारस्थित संसद भवनमा सुरु हुनेछ।
बैठकमा गृहमन्त्री सुधन गुरुङ तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आफ्ना मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
त्यसैगरी, नेपाली कांग्रेसकी सांसद कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक–२०८३’ राष्ट्रियसभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।















