ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
तनहुँको साविक भिरकोट-६ घर भई हाल ऋषिङ गाउँपालिका-४ बस्ने अम्मरसिंह नेपालीलाई प्रहरीले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार राति १०:५० नियन्त्रणमा लिएको हो।
रेड नोटिस जारी भएपछि उनी साउदी अरेबियाबाट एयर अरेबियाको फ्लाइट नम्बर जी९ ५३० जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए।
वारदातपछि फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२४ जुन ६ मा रेड नोटिस जारी गरेको थियो।














