फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा नेपाली नागरिक भारतमा पक्राउ

Image

फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा एक नेपाली नागरिकलाई भारतको उत्तराखण्डस्थित पिथौरागढ प्रहरीले पक्राउ गरेको छ।

साइबर अपराधविरुद्ध सञ्चालन गरिएको अभियानअन्तर्गत दार्चुला जिल्लाको महाकाली नगरपालिका–९ उडइका ३२ वर्षीय वीर भान राम लावड लाई पक्राउ गरी अदालतमा पेस गरिएको भारतीय प्रहरीले जनाएको छ। अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ।

प्रहरीका अनुसार लावडविरुद्ध भारतको सूचना प्रविधि ऐन, २०००को धारा ६७(बी) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

अनुसन्धानका क्रममा फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री विभिन्न व्यक्तिलाई पठाइएको तथा प्रसारण गरिएको खुलेको प्रहरीले जनाएको छ। प्राविधिक विश्लेषणबाट उक्त सामग्री प्रसारण गर्न प्रयोग भएको मोबाइल सिम बलुवाकोटकी एक महिलाको नाममा दर्ता रहेको भए पनि प्रयोग भने उनका भाइ वीर भान राम लावडले गरिरहेको पुष्टि भएको प्रहरीको भनाइ छ।

आवश्यक प्रमाण संकलनपछि पिथौरागढ प्रहरीको टोलीले साउन १९ गते (४ अगस्ट) उनलाई पक्राउ गरेको हो। पक्राउपछि अदालतमा उपस्थित गराइएका लावडलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको भारतीय प्रहरीले जनाएको छ।