नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् । हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
गत वर्षकाे फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा फर्किएका थिएनन् । उनीविरुद्ध चैत २४ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सीआईबीको सिफारिसमा पक्राउ पुर्जी जारी भएको थियो।
सरकारले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्न पत्राचार गरे पनि इन्टरपोलले त्यसलाई अस्वीकार गरेको थियो। साथै सर्वोच्च अदालतको पक्राउ नगर्ने अन्तरिम आदेश र साउन २८ भित्र अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धतापछि उनको फिर्ती तय भएको हो।
यता देउवा पक्षले साउन २९ देखि ३१ सम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ ।
यस्तै आज नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि भएको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार यसअघिको फैसला पुनरावलोकनका लागि अनुमति दिने आदेश जारी गरेको हो।
पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै निवेदन दायर गर्दै सर्वोच्चको फैसला पुनरावलोकन गर्न माग गरेका थिए।
यसअघि सर्वोच्च अदालतले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक मान्यता दिएको थियो। सोही फैसलाप्रति असहमति जनाउँदै देउवा र खड्काले पुनरावलोकनका लागि अदालतमा निवेदन दिएका थिए।
सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएसँगै नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा पुनः न्यायिक सुनुवाइको प्रक्रिया अघि बढ्ने भएको छ।













