ग्यासमा कालोबजारी रोक्न सादा पोसाकमा प्रहरी परिचालन गरिँदै

Image

काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउने भएको छ।

गृह मन्त्रालय र उद्योग मन्त्रालयबीचको समन्वयमा उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी अनुगमन गर्ने तयारी गरिएको हो।

भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक अभाव देखिएको भन्दै उपभोक्ताबाट उद्योग मन्त्रालयमा लगातार गुनासा तथा सूचनाहरू आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएका हुन्।

ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव देखाएर उपभोक्तालाई महँगोमा बिक्री गर्ने तथा ग्यास लुकाउने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुधन गुरुङसँग प्रहरीको सहयोग मागेका थिए।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई ग्यास डिपो र बिक्री केन्द्रमा निगरानी बढाउन तथा आवश्यकताअनुसार सादा पोसाकका प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।

सरकारले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि कडाइ गर्ने जनाएको छ। दोषी भेटिए प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।

उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण सुनिश्चित गर्न अनुगमनलाई थप प्रभावकारी बनाउने सरकारको तयारी छ।