रोहितलाई क्यानको बिदाइ, सन्दीपलाई कप्तानी सुम्पिँदा भन्यो– ‘एक पटकको नेता, सधैंको नेता’

Image

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई धन्यवाद दिँदै भावुक बिदाइ गरेको छ।

सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेपछि क्यानले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत रोहितको नेतृत्व र योगदानको प्रशंसा गरेको हो।

क्यानले रोहितको कप्तानीमा नेपाली क्रिकेटले महत्वपूर्ण उपलब्धि हासिल गरेको स्मरण गर्दै उनको नेतृत्वमा सिर्जना भएका क्षणहरू नेपाली क्रिकेटको इतिहासमा गर्विलो हिस्सा बनेर रहने उल्लेख गरेको छ।

क्यानले लेखेको छ, ‘टोली, देश र खेलप्रतिको तपाईंको प्रतिबद्धता सधैं प्रेरणाको स्रोत बनेको छ। एक पटकको नेता, सधैंको नेता।’

२०७९ कात्तिकमा नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका रोहितले करिब चार वर्ष टोलीको नेतृत्व गरेका थिए। त्यतिबेला पनि उनले सन्दीप लामिछानेकै स्थानमा कप्तानी सम्हालेका थिए। सन्दीप निलम्बनमा परेपछि रोहितलाई नेतृत्वको जिम्मेवारी दिइएको थियो।

सन्दीपविरुद्धको बलात्कार मुद्दामा अदालतबाट सफाइ पाएपछि उनी पुनः राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका हुन्।

क्यानले सोमबार सन्दीपलाई एकदिवसीय राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो। उनको नेतृत्वमा नेपालले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नेछ। एकदिवसीय फर्म्याटमा हुने प्रिमियर कप आगामी एसिया कपको छनोट प्रतियोगितासमेत हो।

यसैबीच, नेपाली राष्ट्रिय टी–२० टोलीको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्।