प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले दिए राजीनामा

Image

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको सरकार बनेपछि निजामती कर्मचारीमा राजीनामाको लहर चलेको छ।सरकारले लिन खोजेको  नीति र दृष्टिकोणबाट आजित भएर सचिवदेखि खरिदार तहसम्मका निजामती कर्माचारीले राजीनामा दिइरहेका छन्।

मंगलबार मात्र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा पेस गरेका हुन्।

साउन १३ मा सञ्चार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै राजीनामा दिएका हुन् । सचिव पोखरेलको सेवा अवधि एक वर्ष बढी बाँकी थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट रहेका पोखरेलले अन्तत राजीनामा दिएका छन्।   

अधिकारी भदौ ४ मा अनिवार्य अवकाशमा जाँदै थिए। यसअघि राजीनामा दिनेमा सहसचिवसम्म मात्र दिए। सरकारले ५५ वर्ष उमेर पूरा भएका र ३० वर्षे सेवा अवधि पूरा भएका कर्मचारीहरूलाई अनिवार्य अवकाशमा पठाउने योजनासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अगाडि बढाएपछि कर्मचारीले धामाधम राजीनामा बुझाउन थालेका छन्।

करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव र ठूलो संख्यामा अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारीले राजीनामा दिएका राष्ट्रिय किताबखानाको रेकर्डमा उल्लेख छ।