लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

Image

रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव भेटिएको छ भने एक बालिका अझै बेपत्ता छिन्।

देवाही गोनाही नगरपालिका–२ लक्षमिनियाका शेख कमरे आलमका १० वर्षीय छोरा मो. रमतुल्लाह र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुनको शव बुधबार बिहान भेटिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट करिब डेढ किलोमिटर टाढा जिङडिया पुलनजिक बिहान साढे ६ बजे दुवै बालबालिकाको शव भेटिएको हो।

मंगलबार दिउँसो करिब २ बजे लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा तीनै जना बालबालिका डुबेर बेपत्ता भएका थिए। डुबेकामध्ये शेख खुर्सैदकी १० वर्षीया छोरी रौशन खातुन अझै बेपत्ता छिन्।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईका अनुसार बेपत्ता बालिकाको खोजी कार्य तीव्र पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली उद्धार तथा खोजीमा परिचालित भएको छ।

बेपत्ता बालिकाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट ९ सदस्यीय डुबान उद्धार टोलीसमेत खटिएको प्रहरीले जनाएको छ।