कांग्रेस इतर समूहको भेला मिराकल पार्टी प्यालेसमा, देउवाले उद्घाटन गर्ने

Image

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ।

राष्ट्रिय भेला आयोजक समितिको प्रचार–प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार साउन २९ देखि ३१ गतेसम्म तय गरिएको भेला मिराकल पार्टी प्यालेसमा आयोजना गर्ने निश्चित भएको हो।

विश्वकर्माका अनुसार भेलाको प्रमुख अतिथिका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुनेछन्। भेलाको उद्घाटन समारोह साउन २९ गते दिउँसो १ बजे सुरु हुनेछ।

भेलाको पहिलो दिन उद्घाटन सत्र तथा त्यसपछिका दुई दिन बन्द सत्र सञ्चालन हुने आयोजकले जनाएको छ।

साउन ३० गते बिहान ८ बजेदेखि ९ बजेसम्म खाजाका लागि समय छुट्याइएको छ भने त्यसपछि दिउँसो १२ बजेसम्म बन्द सत्र सञ्चालन हुनेछ। दिउँसो १२ बजेदेखि १ बजेसम्म खानाका लागि समय छुट्याइएको आयोजकले जनाएको छ।

राष्ट्रिय भेलामा करिब ५ हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने अनुमान गरिएको छ। भेलामा पार्टीको संगठन, समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।