रास्वपाका सांसदलाई तेस्रो पटक प्रशिक्षण दिइँदै

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन २९ देखि ३१ गतेसम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

संसद्को गरिमा र सांसदहरूको भूमिकालाई थप प्रभावकारी बनाउन प्रशिक्षण आयोजना गर्न लागिएको रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन्।

धितालका अनुसार ललितपुरको गोदावरीस्थित फरेस्टमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। यसअघि दुई पटक प्रशिक्षण दिइसकिए पनि पर्याप्त नभएकाले पार्टीले तेस्रोपटक प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो।

उनका अनुसार सांसदहरूकै सुझाव र आवश्यकताका आधारमा प्रशिक्षणको कार्यतालिका तय गरिनेछ। पार्टीको नीति तथा संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयलाई प्रशिक्षणमा प्राथमिकता दिइनेछ।

‘सिक्ने प्रक्रिया जीवनभर रहिरहन सक्छ। यसपटक सांसदहरूकै सुझाव र आवश्यकताअनुसार प्रशिक्षण कार्यक्रम राखिएको हो। हामीले पार्टीको नीति र संसदमा प्रभावकारी भूमिका खेल्ने गरी प्रशिक्षण दिन्छौँ,’ धितालले भनिन्।

यसअघि रास्वपाले २०८२ साल चैत ३ र ४ गते ललितपुरको होटल टुलिप तथा वैशाख २६ र २७ गते जावलाखेलमा सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो।