पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

Image

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरेको छ।

बिहीबार बिहान करिब ७ बजे प्रहरीको टोली जनआस्था कार्यालयमा पुगेको थियो। कार्यालयभित्र चार–पाँच जना प्रहरी प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर बसेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कम्प्युटर तथा अन्य कम्प्युटरजन्य उपकरण हेर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको हो।

प्रहरीले कार्यालयबाट विभिन्न कागजपत्र तथा इलेक्ट्रोनिक उपकरणसमेत संकलन गरेको जनाइएको छ।

पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो। उनको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

महासंघकी अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिँदै श्रेष्ठको पक्राउप्रति विरोध जनाएका छन्। उनीहरूले पत्रकारलाई पक्राउ गरी अनुसन्धान गर्ने प्रक्रियाप्रति आपत्ति जनाउँदै आन्दोलनमा जाने चेतावनी दिएका छन्।

श्रेष्ठ पक्राउ र जनआस्था कार्यालयमा भएको खानतलासीपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा समेत बहस चर्किएको छ।