थापाथलीस्थित सुकुमवासी बस्तीबाट विस्थापित भएर भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका ५७ वर्षीय हीरालाल पासवान मृत भेटिएका छन्। हीरालाल कोठाभित्र झुण्डिएको अवस्थामा मृत अवस्थामा भेटिएका हुन् । उनका छोरा खाना खान बोलाउन जाँदा उनलाई मृत अवस्थामा भेटेका थिए।
परिवारका सदस्यका अनुसार पछिल्लो समय होल्डिङ सेन्टरको अनिश्चित बसाइका कारण हीरालाल तनावमा थिए। सरकारले दिने भनिएको जग्गाको सूचीमा आफ्नो नाम नपरेको भन्दै उनले केही समययता चिन्ता व्यक्त गर्दै आएका थिए।
पासवानलाई सरकारले थापाथलीको सुकुमवासी बस्ती भत्काएपछि कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रको होल्डिङ सेन्टरमा राखेको थियो। गत २७ असारमा उक्त होल्डिङ सेन्टरमा बाढी पसेपछि उनलाई अन्य विस्थापित परिवारसँगै बोडेस्थित कृषि विकास तालिम केन्द्रको होल्डिङ सेन्टरमा सारिएको थियो।
पासवान छोरा र दुई नातिनीसहित परिवारका ६ सदस्यसँगै होल्डिङ सेन्टरमा बस्दै आएका थिए। उनका छोरा रवि ज्याला मजदुरी गर्दै आएका छन्। उनका अनुसार थापाथलीमा बस्दा हीरालाल वरपर बदाम बेचेर गुजारा चलाउँदै आएका थिए। विस्थापित भएपछि भने उनी कामविहीन भएका थिए।
प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्काले पासवानको मृत्युबारे अनुसन्धान गरिरहेको जनाएका छन्।















