वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले डा. नेपाललाई वीर अस्पतालको निर्देशकमा नियुक्त गरेकी हुन्।
११औँ तहका डा. नेपाल ग्यास्ट्रो सर्जन हुन्। उनी यसअघि वीर अस्पतालमै कार्यरत थिए। त्यस्तै, अस्पतालको सहायक निर्देशकमा डा. अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन्।
यसअघि सरकारले डा. प्रभा कोइरालालाई वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिएको थियो। नयाँ निर्देशक डा. नेपालले आजैदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन्।
जिम्मेवारी सम्हालेपछि डा. नेपालले वीर अस्पतालका समस्याबारे आफू वर्षौंदेखि जानकार रहेको बताएका छन्। उनले गरिब तथा विपन्न नागरिकको भरोसाको केन्द्रका रूपमा रहेको वीर अस्पतालको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।













