काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त

Image


काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। शुक्रबार विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले बराललाई उपकुलपति नियुक्त गरेका हुन्। 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित छनोट समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिश गरेको थियो। जसमा प्रा.डा. बरालसँगै प्रा.डा. बालचन्द्र लुइटेल र प्रा.डा. राजेन्द्र जोशी रहेका थिए। 

बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। उनी केयूकै दोस्रो ब्याचका इन्जिनियरिङ संकायका विद्यार्थी पनि हुन्। जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर गरेका बरालले न्यूजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ विषयमा विद्यावारिधि गरेका छन्। 

बरालले केयूमा पढाउन थालेको २७ वर्ष नाघेको छ। न्यूजिल्यान्डमा पढेर नेपाल फर्किएपछि सन् १९९९ मा लेक्चररका रुपमा केयू प्रवेश गरेका थिए। सन् २०१८ मा केयूका प्राध्यापक बनेका थिए।

उनी केयू प्राध्यापक संघका पूर्वसभापति समेत हुन्। प्राध्यापक संघमा रहँदा प्राज्ञिक हकहितका विषयमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। 

प्रा.डा. बरालले धुलिखेल, विराटनगरमा परम्परागत र आधुनिक घरहरूको तापक्रम व्यवस्थापन, ऊर्जा खपत र इन्डोर थर्मल कम्फर्टबारे प्राविधिक अध्ययन गरेका छन्। 

यस्तै, उनी ब्याट्री कुलिङ र नानोफ्लुइड्स, विद्युतीय सवारी साधनको कार्यक्षमता बढाउन र ब्याट्रीलाई अत्यधिक तात्नबाट बचाउन नानोफ्लुइड्सको प्रयोग गरी गरिने थर्मल म्यानेजमेन्ट सिस्टममा अनुसन्धानरत छन्।