लुम्बिनीका मुख्यमन्त्री चेतनारायणले पाए विश्वासको मत : पक्षमा ४५, विपक्षमा २६ मत

Image

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् ।  सोमबार लुम्बिनी प्रदेशसभा बैठकमा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा आचार्यले विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री आचार्यको विश्वासको मतको पक्षमा ४५ मत र बिपक्षमा २६ मत परेको थियो । मुख्यमन्त्री आचार्यको विश्वासको मतको पक्षमा परेको मत प्रदेशसभामा कायम सदस्य संख्याको बहुमत भएकाले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले घोषणा गरे । 

मुख्यमन्त्री आचार्यलाई एमाले, नेकपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालका सांसदहरुले विश्वासको मत दिएका हुन् भने कांग्रेस र जनमतका सांसदले बिपक्षमा मत दिएका थिए ।