नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको छ । सुदूरपश्चिमले कुगेलेइनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो । यसअघि उसले इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ ।
कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेलमा १७ विकेट लिएका थिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका थिए । दोस्रो संस्करणमा उनले ९ खेलबाट १० विकेट लिएका थिए । पुनः टोलीमा फर्किन पाउँदा उत्साहित रहेको कुगेलेइनले बताएका छन् ।
‘म फेरि सुदूरपश्चिमबाट खेल्न उत्साहित छु,’ उनले भने । सुदूरपश्चिम रोएल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनलाई पुनः टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । ‘उनीबाट यसपटक पनि पहिलो र दोस्रो संस्करणको जस्तै योगदानको अपेक्षा राखेका छौं । पहिलो उपाधि जिताउन उनको भूमिका महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने ।
तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा कायम राखेको छ । अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरेको छ ।














