छानबिन समितिको निष्कर्ष: देवानगञ्ज र गोलबजारमा सुरक्षाकर्मीको गोलीबाट ४ जनाको मृत्यु

Image

सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाबारे छानबिन गर्न गठित दुई समितिले आफ्नो अनुसन्धान पूरा गरी सरकारलाई प्रतिवेदन बुझाएका छन्।

छानबिन समितिले दुवै घटनामा ज्यान गुमाएका चारै जनाको मृत्यु सुरक्षाकर्मीद्वारा चलाइएको गोलीबाट भएको निष्कर्ष निकालेको छ। साथै, घटनाका क्रममा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट हतियार प्रयोग भएको प्रमाण नभेटिएको समितिले जनाएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते दुई समुदायबीच भएको विवाद र त्यसपछि उत्पन्न झडपमा तीन जनाको मृत्यु भएको थियो। घटनामा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहताको ज्यान गएको थियो।

घटनाको असर मधेस प्रदेशको सिरहासम्म फैलिएको थियो। साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। सरकारले दुवै घटनामा ज्यान गुमाएका चारै जनालाई सहिद घोषणा गरिसकेको छ।

कप्तानगञ्ज घटनाबारे सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा तथा गोलबजार घटनाबारे गृह मन्त्रालयका अर्का सहसचिव पुष्पराज शाहीको नेतृत्वमा छुट्टाछुट्टै छानबिन समिति गठन गरिएको थियो।

कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्रको गोली

छानबिनबाट कप्तानगञ्ज घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फबाट गोली चलेको देखिएको छ। घटनास्थलमा कुल २० राउण्ड गोली चलेको समितिको निष्कर्ष छ।

झडप नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाशकुमार श्रेष्ठ खटिएका थिए। दुवै समुदायका व्यक्तिले चिर्पट, ढुंगा, बाँस र लाठी प्रयोग गरी सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो।

छानबिनका क्रममा इन्स्पेक्टर राईले गोली चलाएको र पछि सशस्त्र प्रहरीका सुरक्षाकर्मीले समेत गोली चलाएको देखिएको छ। सोही क्रममा तीन जनाको मृत्यु भएको निष्कर्ष समितिले निकालेको छ।

गोलबजारमा प्रहरीको गोलीबाट गणेश यादवको मृत्यु

सिरहाको गोलबजार घटनामा भने सशस्त्र प्रहरीले गोली नचलाएको छानबिनबाट देखिएको छ। नेपाल प्रहरीले चलाएको गोली लागेर गणेश यादवको मृत्यु भएको समितिको निष्कर्ष छ।

छानबिनका क्रममा गोलबजारमा सात राउण्ड डमी राउण्ड तथा पेस्तोलबाट दुई राउण्ड गोली चलेको पाइएको छ। भिड नियन्त्रणका क्रममा इन्स्पेक्टर सुदन केसी खटिएका थिए र उनले बोकेको पेस्तोलबाट गोली चलेको निष्कर्ष छानबिन समितिले निकालेको छ।

प्रदर्शनकारीको मृत्यु भएपछि प्रहरी प्रधान कार्यालयले साउन १५ गते इन्स्पेक्टर केसीलाई त्यहाँबाट हटाएको थियो।

बाहिरबाट हतियार प्रयोग भएको प्रमाण छैन

दुवै घटनाका क्रममा प्रदर्शनकारी वा अन्य समूहबाट पनि गोली चलेको भन्ने चर्चा भए पनि छानबिन समितिले सुरक्षाकर्मीबाहेक अन्यत्रबाट हतियार प्रयोग भएको प्रमाण नभेटिएको जनाएको छ।

लहान नगरपालिका–४ मा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा एक प्रहरी कर्मचारीलाई गोली लागेको प्रहरीको प्रारम्भिक दाबी थियो। तर, छानबिन समितिले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत सहायक हवल्दार नारद परियारलाई गोली नलागेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ।

छानबिन समितिले घटनामा सुरक्षा व्यवस्थापनमा लापरवाही तथा कमजोरी गर्ने सुरक्षा अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ। साथै, घटनाको सामाजिक, धार्मिक र सुरक्षा पक्षबाट विश्लेषण गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायसमेत सुझाइएको बताइएको छ।