अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एम. एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध मंगलबार (भदौ २) भ्रष्टाचार मुद्दा दायर भएको हो । आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखापरीक्षणका लागि पेस गरिएका कागजात नमिलेको भन्ने नाउँमा पाँच लाख रुपैयाँ घुस रकम लिएको दाबी अख्तियारको छ ।
आयोगमा परेको उजुरी र सूचनाका आधारमा सेवाग्राहीबाट पाँच लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा पालले लेखापरीक्षण तथा कर निर्धारण गरी कर फर्छ्योट गर्ने सिलसिलामा पेस गरिएका बिल–बिजक नमिलेको र नमिलाए काम नहुने भन्दै यादवमार्फत रकमको बार्गेनिङ गरी घुस रकम लिएको तथ्य खुल्न आएको दाबी अख्तियारको छ ।
कर अधिकृत पाल र चार्टर्ड एकाउन्टेन्ट यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजायको माग छ । चार्टर्ड एकाउन्टेन्ट यादवमाथि काम मिलाइदिने नाममा सेवाग्राहीसँग रकमको बार्गेनिङ गरी सेवाग्राहीलाई घुस दिन दुरुत्साहन गरेको आरोप छ ।















