बागमतीमा मन्त्रिपरिषद् विस्तार : ६ मन्त्रीले लिए शपथ

Image

वाग्मती प्रदेशमा किरण थापामगर नेतृत्वको नयाँ सरकारमा ६ नवनियुक्त मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नयाँ मन्त्रिपरिषद्‌मा सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

वाग्मती प्रदेश संसदीय दलका उपनेता गिरबहादुर तामाङको नेतृत्वमा राप्रपा प्रदेश सरकारमा सहभागी भएको हो । गिरबहादुर स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री र राजु विष्ट खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त भएका छन् । यस्तै, भरत केसी भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका छन् । यता, ज्ञानबहादुर तामाङले विनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।

वाग्मतीमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा नयाँ सरकार गठन भएको हो ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउने आधार प्रस्तुत गरेपछि प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।