तिहारअघिको अन्तिम कारोबारमा नेप्से २.६४ अंकले बढ्यो

Image

 तिहारअघिको अन्तिम कारोबार दिनमा नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । शुक्रबार नेप्से सूचक २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा बन्द भएको हो । 

आइतबारबाट तिहार सुरु हुने हुँदा शुक्रबार बन्द भएको बजार एकैपटक अर्को हप्ताको शुक्रबार नै खुल्नेछ । त्यसैले साताको अन्तिम दिन लगानीकर्ता खरिदबिक्रीमा सक्रिय भएनन् । त्यसैले कारोबार रकम समेत खुम्चिन पुगेको छ । 

यो दिन लगानीकर्ताले कुल तीन अर्ब ४६ करोडको मात्रै सेयर खरिदबिक्री गरेका हुन् । जुन यो हप्ताकै कम कारोबार हो ।

कारोबार घटे पनि सूचक सामान्य अंकले बढ्दा १५८ वटा कम्पनीको सेयरमूल्य बढेको छ । जसमा क्रेष्ट माइक्रोफाइनान्स १४.०८ प्रतिशतको वृद्धिसहित सर्वाधिक मूल्य बढ्नेको सूचीमा अग्रस्थानमा छ ।

यस्तै, १०७ कम्पनीको मूल्य घटेको छ । घोराही सिमेन्टको सेयर मूल्य ४.४३ प्रतिशतले घटेको छ । 

कारोबारमा भने आज घोराही सिमेन्ट नै अगाडि छ । यो कम्पनीको २१ करोडको कारोबार भएको हो ।

यो साता पाँच दिन कारोबार भएको बजारमा दुई दिन नेप्से घटेको थियो भने तीन दिन बढेको थियो । समग्रमा यो साता नेप्से ३४.९३ अंकले बढ्न पुगेको छ ।