कपिलवस्तुमा १५ केजीभन्दा बढी लागूऔषधसहित पाँच महिला पक्राउ

Image

कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले १५ केजीभन्दा बढी लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ।

कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच जनालाई रोकी जाँच गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो।

जाँचका क्रममा पाँच जनाको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० केजी बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर तथा पर्साका चुमा लामिछाने रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

बरामद गरिएको पदार्थको परीक्षण गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्ति तथा सम्भावित लागूऔषध सञ्जालबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।