रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित

Image

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ।

लामिछाने यही भदौको पहिलो साता चीन भ्रमणमा जाने तयारीमा थिए। यसअघि उनी भदौ ७ देखि १४ गतेसम्म (अगस्ट २३ देखि ३०) चीन जाने कार्यक्रम तय भएको थियो।

तर चीनका राष्ट्रपति सी चिनफिङसँग भेट नहुने तथा नेपालभित्रको राजनीतिक परिस्थितिमा समेत केही परिवर्तन आएको भन्दै तत्कालका लागि भ्रमण स्थगित गरिएको स्रोतहरूले जनाएका छन्।

लामिछाने पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाने तयारीमा थिए। उनको भ्रमण तालिकामा बेइजिङपछि तिब्बतको कैलाश मानसरोवर जाने कार्यक्रमसमेत रहेको थियो।

भ्रमणको नयाँ मिति भने अहिलेसम्म तय भएको छैन। यद्यपि लामिछाने असोज अर्थात् मध्य सेप्टेम्बरतिर चीन भ्रमणमा जान सक्ने सम्भावना रहेको स्रोतहरूको दाबी छ।

लामिछाने निकट एक नेताका अनुसार भ्रमण पूर्ण रूपमा रद्द भएको नभई तत्कालका लागि स्थगित भएको हो। उनका अनुसार सभापति लामिछाने चीन कहिले जाने भन्नेबारे भने अझै निश्चित भइसकेको छैन।

यसैबीच, रास्वपासहित संघीय संसद्का पाँच सांसद तथा कर्मचारीको टोली भने चीन भ्रमणमा जाने भएको छ। बेइजिङमा आयोजना हुने विकासशील देशका सांसदहरूको आठौँ सेमिनारमा सहभागी हुन टोली भदौ ८ गते चीन जाने कार्यक्रम छ।

टोलीको नेतृत्व प्रतिनिधिसभाका रास्वपा सांसद कमल सुवेदीले गर्नेछन्। टोलीमा राष्ट्रिय सभाका सांसद झक्कु सुवेदी र किरणबाबु श्रेष्ठ, प्रतिनिधिसभाका सांसद यज्ञबहादुर बोगटी तथा संघीय संसद्का उपसचिव शारदा भण्डारी रहनेछन्।