सुनको भाउ लगातार बढ्ने क्रम जारी छ। आज सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको थियो। त्यसअघि गएको बिहीबार तोलामा ९ हजार ३ सय र शुक्रबार ३ हजार ३ सय रुपैयाँले सुनको मूल्य बढेको थियो।
आजको वृद्धिसँगै चार कारोबार दिनमा सुनको भाउ तोलामा १८ हजार ६ सय रुपैयाँले बढिसकेको छ। पछिल्लो तीन दिनमै सुनको मूल्य १५ हजार ४ सय रुपैयाँले बढेको हो।
यसैबीच, चाँदीको मूल्य भने लगातार दोस्रो दिन पनि घटेको छ। आज चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेर ४ हजार ९ सय ६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो पनि चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको थियो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो।
त्यस्तै, गएको माघ १५ गते चाँदीको मूल्य पनि तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो। माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो एकदिने गिरावट हो।














