राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई पदमुक्त गर्न सिफारिस गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचन आयोग र बागमती प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै मन्त्रीहरूलाई पदमुक्त गर्न सिफारिस गरेका हुन्।
केन्द्रीय निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङमाथि पार्टीले कारबाही प्रक्रिया अघि बढाएको हो।
पार्टीले तीनै मन्त्रीसँग स्पष्टीकरण माग गरेको थियो। तर, उनीहरूले स्पष्टीकरणको जवाफ नदिएपछि पदमुक्तिको प्रक्रिया अघि बढाइएको राप्रपाले जनाएको छ।
यसअघि राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि पनि पार्टीले कारबाही गरिसकेको छ।
मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभामा विश्वासको मत लिँदै गर्दा राप्रपाभित्र देखिएको विवादले बागमती प्रदेश सरकारको भविष्यसमेत अन्योलमा परेको छ। मुख्यमन्त्रीले विश्वासको मत पाउने वा नपाउने विषयमा राप्रपाका दुई प्रदेशसभा सदस्यको मत निर्णायक हुने देखिएको छ।













