प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सङ्घीय संसद् सचिवालयमा पुगेको छ ।
प्रधानमन्त्री शाहले स्वास्थ्य कारणले कालो चस्मा लगाउनुपर्ने व्यहोराको परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा प्राप्त भएको सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरेका छन् ।
यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद्मा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदहरूलाई निर्देशन दिएका थिए । स्वास्थ्य अवस्थाका कारण कालो चस्मा लगाउनुपर्ने भए त्यसको स्वास्थ्य परीक्षण रिपोर्ट पेस गर्नुपर्ने सभामुखले बताएका थिए ।
सोहीअनुसार प्रधानमन्त्री शाहले स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पठाएका हुन् ।
प्रधानमन्त्री शाह बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन् । उक्त कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्नेछन् ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीअनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार बुधबारका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको हो ।
नियमावलीको नियम ५७ मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था छ । यस्तै, नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि प्रश्नको विषयबारे लिखित जानकारी सभामुखलाई गराउनुपर्ने व्यवस्था छ ।
यसअनुसार सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहने सांसदहरूलाई भदौ ५ गतेसम्म प्रश्न दर्ता गर्न समय दिएका थिए । सो अवधिमा ११ जना सांसदले प्रश्न दर्ता गराएका छन् ।
प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शाह संसद् भवनमा उपस्थित हुँदा स्वास्थ्य अवस्थाका कारण कालो चस्मा लगाउनुपर्ने व्यहोराको पत्र तथा स्वास्थ्य परीक्षण रिपोर्ट संसद् सचिवालयमा पुगेको हो ।














