नेपालमा शव पहिचानमा सघाउन फरेन्सिक विशेषज्ञ टोली पठाउँदै भारत

Image

नेपालमा उद्धार तथा राहतका लागि भारतले मेडिकल र फरेन्सिक विशेषज्ञ टोली पठाउने तयारी गरेको छ। नेपालमा बाढीपहिरोपछि ठूलो संख्यामा मानिस बेपत्ता तथा मृत अवस्थामा भेटिएपछि शव पहिचानका लागि डीएनए परीक्षण र फरेन्सिक पहिचानको आवश्यकता बढेको छ। नेपालमा उपलब्ध क्षमता सीमित रहेकाले भारतले विशेषज्ञ टोली पठाउन लागेको हो।

भारतीय विशेषज्ञहरूले मृतकको पहिचान तथा आवश्यक फरेन्सिक प्रक्रियामा सहयोग गर्नेछन्। यसबाट पहिचान हुन नसकेका शवको विवरण यकिन गर्न र परिवारलाई शव छिटो हस्तान्तरण गर्न सहज हुने अपेक्षा गरिएको छ।

भारतले उपचार तथा उद्धारमा सहयोग पुर्‍याउन मेडिकल टोलीसमेत नेपाल पठाउँदैछ। टोलीमा चिकित्सक तथा प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मी रहनेछन्।

बाढी प्रभावित क्षेत्रमा अझै उद्धार तथा राहत कार्य जारी रहेकाले भारतले मेडिकल, फरेन्सिक तथा टनेल रेस्क्यु विशेषज्ञमार्फत नेपाललाई थप प्राविधिक सहयोग उपलब्ध गराउन लागेको हो।