भोटेकोशी बाढीः तीन हजारको उद्धार, पाँच हजार पाँचसयभन्दा बढी बेपत्ता

Image

भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न स्थानमा अलपत्र परेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढी प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानबाट गएरातिसम्म तीन हजार २९ जनाको उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये दुई हजार ७७६ जना नेपाली नागरिक र २५३ जना विदेशी नागरिक रहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ६२४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिए।

बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा आश्रय लिइरहेकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो। उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण गरिएको र उपचार आवश्यक देखिएकालाई सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिस गरिएको प्रशासनले जनाएको छ। अन्यलाई परिवारसँग पुनर्मिलन गराइएको छ।

भोटेकोशी बाढीपछि अलपत्र परेकाको उद्धार कार्य अझै जारी छ। जलविद्युत् आयोजनाको सुरुङभित्र रहेको भनिएकाबाहेक अधिकांशको उद्धार भइसकेको जनाइएको छ। यद्यपि रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा अझै केही व्यक्ति फसेको हुनसक्ने भएकाले हेलिकप्टरमार्फत नियमित रेकी भइरहेको प्रजिअ रेग्मीले बताए।

यसैबीच, बाढीमा परेर आफन्त हराएको भन्दै आइतबारसम्म एक हजार ५५८ जनाको खोजतलासका लागि निवेदन परेको छ। नुवाकोट र रसुवाका विभिन्न स्थानबाट आफ्ना आफन्त हराएको भन्दै खोजतलासका लागि निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।

हराइरहेका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा श्री नं. १ सैन्य तालिम केन्द्र, विदुरमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।

बाढीमा फसेका तथा हराइरहेका व्यक्तिको खोज तथा उद्धारका लागि हेलिकप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेरासहित संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ।

बाढीमा परेर ज्यान गुमाएकामध्ये नुवाकोटमा हालसम्म ९५ जनाको शव सङ्कलन गरिएको छ। जिल्लाका विभिन्न ३० स्थानमा संयुक्त सुरक्षा टोली परिचालन गरी गरिएको खोज तथा उद्धारका क्रममा ती शव सङ्कलन गरिएको हो।

सङ्कलन गरिएका शवको पहिचानका लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। शव परीक्षणका लागि नुवाकोटबाट काठमाडौंको शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। प्रहरीले मृतकका आफन्तलाई शव पहिचान तथा आवश्यक प्रक्रियाका लागि अस्पतालमा सम्पर्क गर्न अनुरोध गरेको छ।