सिंहदरबारमा खनाल–चो भेट: जलवायु परिवर्तनबाट नेपालमा भएको क्षतिबारे दक्षिण कोरियाले आवाज उठाउने

Image

नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले आज (आइतबार) परराष्ट्रमन्त्री शिशिर खनालसँग भोटेकोसी बाढीपछि जारी खोज, उद्धार तथा राहत साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गरेका छन्। 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि बेपत्ता दक्षिण कोरियाली नागरिकको खोजी तथा उद्धारका विषयमा पनि गम्भीर छलफल भएको हो। 

सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा मद्दतका लागि अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम पठाएकामा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरे। साथै उनले बाढीपीडितका कोरिया सरकारबाट मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराइएकामा पनि धन्यवाद ज्ञापन गरे। 

विपद्पछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपद्‌मा कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने बताए। र, यसमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे। 

भेटवार्तामा दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनामा आफ्नो सरकारबाट सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताए। 

जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको जनधन तथा पूर्वाधार क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै चोले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र आफ्नो मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिए। 

उनले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा राखे। साथै नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा दक्षिण कोरियाले पनि आफ्ना तर्फबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। 

भेटवार्ताका क्रममा दुवै मन्त्रीले नेपाल र दक्षिण कोरियाबिच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास, समझदारी र सहकार्यलाई अझ सुदृढ एवं व्यापक बनाउँदै द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन निकट सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। 

नेपाल र दक्षिण कोरियाबिच श्रम, विकास साझेदारी, व्यापार, लगानी, प्रविधि तथा जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्य जारी छ। पछिल्लो विपद्‌मा कोरियाबाट प्राप्त खोज तथा उद्धार सहयोग, मानवीय सहायता र राहत सामग्रीले दुई देशबिचको मित्रता र ऐक्यबद्धतालाई थप सुदृढ बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।