रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका अस्ट्रेलियाली सुरुङ विशेषज्ञ तथा भूगर्भविद् प्रोफेसर आर्नोल्ड डिक्सले नेपालले आफूलाई नयाँ र गहिरो पाठ सिकाइरहेको बताएका छन्।
६२ वर्षीय डिक्सले सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेपालमा अहिले देखिएको उद्धार परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनका अनुसार नेपालमा एकैपटक विभिन्न स्थानमा उद्धारका सम्भावित चुनौतीहरू देखा परेका छन्, जुन उनले आफ्नो व्यावसायिक जीवनमा यसअघि सामना नगरेको अवस्था हो।
डिक्सले नेपालमा एउटा मात्र उद्धार अभियानमा केन्द्रित हुनुपर्ने अवस्थाभन्दा फरक, फरक–फरक स्थानमा एकै समयमा जोखिम, अनिश्चितता र बचाउन सकिने जीवनसँग जोडिएका सम्भावित उद्धार अभियानहरू अघि बढिरहेको बताएका छन्।
‘अहिले नेपालमा हामीले यस्तो अवस्थाको सामना गरिरहेका छौँ, जुन मैले यसअघि कहिल्यै सामना गरेको थिइनँ,’ उनले लेखेका छन्, ‘एउटा उद्धार मात्र होइन, एकै समयमा फरक–फरक ठाउँमा आफ्नै जोखिम, अनिश्चितता र अझै बचाउन सकिने जीवनहरू बोकेका धेरै सम्भावित उद्धार अभियानहरू अगाडि बढिरहेका छन्।’
नेपालको वर्तमान परिस्थितिले आफूलाई सन् २०२३ को भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङ उद्धार अभियानको सम्झना गराएको पनि डिक्सले बताएका छन्। उक्त सुरुङमा ४१ जना कामदार फसेपछि उनी उद्धार अभियानमा महत्वपूर्ण भूमिकामा सहभागी भएका थिए।
लामो समयसम्म सुरुङभित्र फसेका ४१ जना कामदारलाई सुरक्षित रूपमा बाहिर निकालिएको उक्त अभियानलाई विश्वकै कठिन उद्धारमध्ये एक मानिन्छ। डिक्सले त्यतिबेला आफूहरूसामु एउटै लक्ष्य रहेको स्मरण गरेका छन्—सुरुङभित्र फसेका सबै ४१ जनालाई जीवितै घर फर्काउनु।
‘त्यहाँ ४१ जना मानिस जमिनमुनि फसेका थिए र हामीसामु एउटा असम्भवजस्तो देखिने एउटै काम थियो—उनीहरूलाई जीवितै घर फर्काउनु,’ उनले लेखेका छन्।
सामूहिक प्रयासबाट त्यो चुनौती पार गर्न सफल भएको स्मरण गर्दै डिक्सले एउटा ठूलो उद्धार अभियान सफल हुँदैमा जिम्मेवारी र चुनौती समाप्त नहुने बताएका छन्।
‘सायद एउटा ठूलो परीक्षा पार गर्दैमा परीक्षा सकिँदैन,’ उनले भनेका छन्, ‘सायद कहिलेकाहीँ त्यसको अर्थ हामीलाई अझ ठूलो जिम्मेवारी सुम्पिइएको हुन्छ।’
डिक्सले नेपालको वर्तमान अवस्थालाई प्राविधिक उद्धारको चुनौतीमा मात्र सीमित गरेका छैनन्। संकटका बेला मानिसप्रतिको जिम्मेवारी, कर्तव्य र करुणालाई व्यवहारमा कसरी उतार्ने भन्ने विषयलाई पनि उनले महत्वपूर्ण मानेका छन्।
उनले पश्चिमी परम्पराको ‘कर्तव्य’ र एसियाली परम्पराको ‘धर्म’को अवधारणासँग उद्धार कार्यलाई जोड्दै परिणाम निश्चित नभए पनि सही काम गरिरहनुपर्ने बताएका छन्।
‘पश्चिमी परम्पराले यसलाई कर्तव्य भन्न सक्छ—सफलता निश्चित छैन भन्ने थाहा हुँदाहुँदै पनि हामी जे सही हो त्यही गर्छौँ, किनकि त्यो हाम्रो जिम्मेवारी हो,’ उनले लेखेका छन्।
उनका अनुसार एसियाली परम्पराले यसलाई ‘धर्म’को अवधारणाबाट हेर्न सक्छ। कठिन परिस्थिति थप जटिल बन्दै जाँदा र परिणामबारे निश्चितता नहुँदा पनि जिम्मेवारीबाट पछि नहट्नु नै वास्तविक परीक्षा भएको डिक्सको भनाइ छ।
सिल्क्यारा उद्धारबाट आफूले सिकेको पाठभन्दा नेपालमा भइरहेको उद्धार प्रयासले अझ ठूलो पाठ सिकाइरहेको उनले बताएका छन्। उनका अनुसार धेरै मानिसको जीवन उद्धारकर्ताहरूको प्रयासमा निर्भर हुँदा आशा मात्र पर्याप्त हुँदैन। आशालाई व्यवस्थित प्रयासमा बदल्नुपर्छ, करुणालाई व्यवहारमा उतार्नुपर्छ र परिणाम निश्चित नभए पनि जिम्मेवारीबाट पछि हट्नु हुँदैन।
डिक्सले उद्धारको सफलता कति मानिस बचाइए भन्ने तथ्यबाट मात्र मूल्यांकन नहुने बताएका छन्।
‘हामीले कति जीवन बचायौँ भन्ने कुराले मात्र हाम्रो मूल्यांकन हुँदैन,’ उनले लेखेका छन्, ‘हामीले कसलाई त्याग्न अस्वीकार गर्यौँ भन्ने कुराले पनि हाम्रो मूल्यांकन हुन्छ।’
रसुवाको भोटेकोसी बाढीपछि उद्धार अभियानमा प्रत्यक्ष खटिएका डिक्सको यो अभिव्यक्तिले संकटका बेला उद्धारको प्राविधिक पक्षसँगै मानवीय जिम्मेवारी र नैतिक दायित्वको महत्वलाई समेत उजागर गरेको छ।
सिल्क्यारा सुरुङमा ४१ जनाको जीवन बचाउने कठिन अभियानमा सहभागी भइसकेका डिक्सका लागि नेपालमा अहिले देखिएको परिस्थिति अर्को ठूलो परीक्षा














