रविसँग अमेरिकी विदेशमन्त्रीले भने– आवश्यक परे नेपाललाई थप सहयोग गर्छौं

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ। अमेरिकी विदेशमन्त्री रुबियोले लामिछानेसँग टेलिफोन सम्पर्क गरी नेपालमा आएको प्राकृतिक विपद्बारे चासो व्यक्त गरेका हुन्।

वार्ताका क्रममा रुबियोले भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरेका छन्। उनले विपद्को यस कठिन घडीमा नेपाली जनता र नेपाल सरकारप्रति अमेरिकाको ऐक्यबद्धता रहेको पनि बताएका छन्।

जवाफमा रास्वपा सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको जानकारी गराएका छन्। उनले सरकारले उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरेर प्रभावित नागरिकको उद्धार तथा राहतमा काम गरिरहेको बताए।

लामिछानेले नेपालमा रहेका विदेशी नागरिकसहित सबै नागरिकको सुरक्षाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको रुबियोलाई जानकारी गराएको बताइएको छ।

वार्ताका क्रममा लामिछानेले विपद्का बेला अमेरिकी सरकारले देखाएको सद्भाव र सहयोगप्रति आभार व्यक्त गरेका छन्।

त्यस अवसरमा अमेरिकी विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई आवश्यकताअनुसार थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

भोटेकोसीमा आएको बाढीपछि नेपालका विभिन्न क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य जारी रहेका बेला भएको यो उच्चस्तरीय टेलिफोन संवादलाई विपद्को समयमा नेपालप्रति अमेरिकी ऐक्यबद्धताको सन्देशका रूपमा हेरिएको छ।