५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ निर्माण भइरहेको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाअन्तर्गत धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृह जोड्ने सुरुङ बुधबार ब्रेक थ्रु भएको हो।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार छहरीको अडिटदेखि बाँधतर्फ जोड्ने २ हजार ५०६.३९ मिटर सुरुङ निर्माण सम्पन्न भएको छ। खाम्लास्थित बाँधतर्फ निर्माण हुने कुल ३ हजार २८३.३२ मिटर सुरुङमध्ये हालसम्म १ हजार ९७३ मिटर निर्माण सकिएको उनले जानकारी दिए।
“बाँकी सुरुङ पनि केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ,” केसीले भने।
आयोजनाको हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको छ। निर्माण कार्यको गति बढाइएको र आगामी एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख केसीले बताए।
सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्रयाक्टरसँग २०८० चैत १९ गते सम्झौता भएको थियो भने कम्पनी २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको थियो। ठेकेदारले २०८१ भदौदेखि मुख्य सुरुङ निर्माणको काम थालेको हो।
आयोजनामा बाँध, सुरुङ र विद्युत्गृह निर्माणसँगै हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फका कामलाई समेत तीव्रता दिइएको छ। यद्यपि, बर्खायाममा निर्माणस्थलतर्फको बेनी–दरबाङ सडकमा पर्ने फापरखेत पहिरो, दुखुखोला सडक पुलमा देखिएको जोखिम तथा शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइले आयोजनाको निर्माणमा असर पुर्याएको जनाइएको छ।
सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकबाट प्राप्त ऋण तथा प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत आयोजनामा ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँ लगानी जुटाइँदैछ। आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा निर्माण भइरहेको छ।
आयोजनाबाट उत्पादित विद्युत् भारवाङदेखि करिब १.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी सबस्टेसनमा जोडिनेछ। आयोजनाले वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्नेछ।
रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहसम्मको उचाइ १९६ मिटर रहेको छ। आउटलेटबाट विद्युत्गृहमा पानी खसाल्न ६९२ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ।
ऊर्जा इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सोलुसन प्रालि आयोजनाको परामर्शदाता रहेको छ भने मेकानिकल तथा इलेक्ट्रोमेकानिकलतर्फका ठेकेदार छनोटको प्रक्रिया जारी रहेको आयोजनाले जनाएको छ।














