रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा गडबडी देखिएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले भारतबाट ग्यास निरन्तर आइरहेको भए पनि वितरण प्रणालीमा गडबडी देखिएकाले मन्त्रालय, नेपाल आयल निगम, उद्योगी र व्यापारीहरूलाई एकै ठाउँमा राखेर सार्वजनिक बैठक गरिनुपर्ने माग समेत गरे।
समस्या कहाँ र कसका कारण रोकिएको हो भन्ने कुरा आम जनताले प्रत्यक्ष थाहा पाउनुपर्ने उनले बताए । उनले हाल २० वटा गाडीले ढुवानी गरिरहेको भए त्यसलाई बढाएर १०० वटा गाडी परिचालन गरी बजारमा आपूर्ति सहज बनाउन सुझाव दिए । ग्यासमाथिको दीर्घकालीन निर्भरता कम गर्न सरकारले विद्युतीय चुल्हो विशेष छुटमा उपलब्ध गराउने योजना तत्काल ल्याउनुपर्ने उनले बताए ।
साथै उनले उपत्यकाको समस्या समाधानका लागि जिम्मेवार कर्मचारी, सार्वजनिक सम्पर्क नम्बर र गुनासो सुन्ने/सम्बोधन गर्ने स्पष्ट कार्यविधि बनाउनुपर्ने धारणा राखे ।














