आइतबार ओमानको तटनजिकै ‘एमटी एल गाइया’ नामको व्यापारिक जहाजमा आक्रमण हुँदा एक भारतीय बेपत्ता भएका छन्।
भारतीय चालक दलका १४ जना सदस्यमध्ये १३ जनालाई भने सुरक्षित रूपमा उद्धार गरिएको छ।
भारतको विदेश मन्त्रालयले जहाजमा भएको आक्रमणको निन्दा गरेको छ।
मन्त्रालयले ओमानस्थित भारतीय दूतावासले घटनाको निगरानी गरिरहेको र बेपत्ता भारतीयको खोजीमा ओमानी अधिकारीसँग समन्वय गरिरहेको बताएको छ।
भारतको विदेश मन्त्रालयले भनेको छ, ‘हामी सर्वप्रथम ओमानको तटमा व्यावसायिक जहाज एमटी एल गयामा भएको आक्रमणको निन्दा गर्छौं। जहाजमा रहेका भारतीय चालक दलका १४ सदस्यमध्ये अहिलेसम्म १३ जनाको उद्धार गरिएको छ। बेपत्ता भारतीय नागरिकको खोजी जारी छ। ओमानस्थित हाम्रो दूतावासले परिस्थितिको निरन्तर निगरानी गरिरहेको छ।’
भारतले त्यस क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि वार्ता र कूटनीतिक बाटो अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।













