कृष्णभीरमा सडक निर्माण सम्पन्न, भोलिदेखि गाडी चल्ने

Image

कृष्णभीरमा नयाँ सडक निर्माण सम्पन्न भएको छ।

रसुवामा बाढी आएको चार दिन पछि भदौ १४ गते कृष्णभीरमा मूख्य सडक भासिएपछि त्यहाँ नयाँ ट्र्याक निर्माण अघि बढाइएको थियो। बुधबार बिहानसम्म नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उक्त ट्र्याकमा भोलि (असोज १) देखि सवारी साधनको आवतजावत सुरू हुने पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ।

‘बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सरकारबाट सम्पन्न भएको छ। यो सडक खण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन आउजाउ गर्नेछन्,’ प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा लेखिएको छ।  

नयाँ खोलिएको ट्र्याकमा आइतबार केही सवारी साधन परीक्षणका रूपमा आवत जावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको हो।

नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालका अनुसार ११ औं दिन मंगलबार नै ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम अन्तिम चरणमा पुगेको थियो।

ट्र्याक निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ उपकरण परिचालन गरिएको थियो। आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित ५–६ वटा हेभी इक्युपमेन्ट प्रयोग गरिएको थियो। नयाँ ट्र्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ गरिएको छ। अन्तिम चरणमा करिब ४०–५० जना दक्ष तथा मजदुर परिचालन गरिएको थियो।

सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गरिएको छ। करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको इन्जिनियर नेपालले बताए।