एसियाली खेलकुदको महिला भलिबलको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली जापानसँग सोझो सेटमा पराजित भएको छ ।
बुधबार आइचीस्थित कोमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्न्यासियममा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेल जापानले २५–८, २५–१२, २५–११ ले आफ्नो पक्षमा पार्यो ।
अब नेपालले बिहीबार इन्डोनेसियाको सामना गर्नेछ ।
नेपाली टोली लगातार दोस्रोपटक एसियाली खेलकुदमा सहभागी हुँदै छ । यसअघि नेपालले सन् २०२३ मा सम्पन्न १९औँ एसियाली खेलकुदमा पहिलोपटक प्रतिस्पर्धा गरेको थियो ।
चीनमा भएको उक्त संस्करणमा नेपालले भियतनाम र दक्षिण कोरियासँग सोझो सेटमा पराजय व्यहोरेको थियो ।
२०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन यही सेप्टेम्बर १९ (असोज ३) जापानको नागोयास्थित मिजुहो पार्क एथ्लेटिक रंगशालामा हुने भए पनि विभिन्न खेलको प्रतिस्पर्धाहरू भने सुरु भइसकेका छन् ।
औपचारिक उद्घाटनअघि नै बास्केटबल र फुटबलको खेलहरू सुरु भइसकेका छन् । बास्केटबल सेप्टेम्बर १० र महिला फुटबल सेप्टेम्बर १४ बाट सुरु भएको हो ।
यसैगरी, आजदेखि महिला भलिबलसँगै मोडर्न पेन्टाथलन पनि सुरु भएको छ ।














