चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.२ प्रतिशतले वृद्धि भई दुई खर्ब १५ अर्ब पाँच करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई एक अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २५ प्रतिशतले बढेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२ हजार ६९३ र पुनः श्रम स्वीकृति लिनेको संखया २७ हजार ७४८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४४ हजार ४६६ र २३ हजार ६४४ रहेको थियो ।
यस्तै, साउनमा खुद द्वितीय आय (खुद ट्रान्सफर) दुई खर्ब २९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब ९३ अर्ब ८५ करोड रहेको थियो ।













