एन्फा पदाधिकारीलाई सीआईबीको केरकार

Image

अखिल नेपाल फुटबल संघ (एन्फा) मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पुगेको छ। 

एन्फामाथि अनुसन्धान गरिरहेको सीआईबीले केही कागजात नियन्त्रणमा लिन र त्यहाँका पदाधिकारीसँग पनि सोधपुछ आवश्यक भएको भन्दै सातदोबाटोस्थित कार्यालयमा पुगेको हो। शुक्रबार साँझ पनि सीआईबीको टोली एन्फा कार्यालयमै छ। 

एन्फा कार्यालयमा सीआईबीको टोलीसँगै एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी छन्। उनलाई पनि सोधपुछका लागि राखिएको र आवश्यक परे नियन्त्रणमा लिने सीआईबी स्रोतले बतायो।

‘अहिले उहाँ हाम्रो टोलीसँगै हुनुहुन्छ। अहिले नै नियन्त्रणमा लिइसकिएको छैन। तर आवश्यक पर्दा नियन्त्रणमा लिएर अनुसन्धान गर्नु पर्ने हुन्छ। अहिले टोलीले कागजातहरु हेर्दै छ’, सीआईबीका उच्च अधिकारीले भने।

फिफाले एन्फमाथि प्रतिबन्ध लगाएको झण्डै चार महिना पुगेको छ। राष्ट्रिय खेलकुद परिषद्ले सुरुमा एन्फालाई निलम्बन गरेको थियो। तर पछि सर्तसहित निलम्बन फुकुवा गरे पनि फिफाले विनाशर्त निलम्बन फुकुवा गर्नु पर्ने शर्तसहित एन्फामाथि प्रतिबन्धको निर्णय गरेको थियो। 

बिहीबार मात्रै एन्फा महासचिव किरण राईले पत्रकारसम्मलेन गर्दै अब खेलकुदका गतिविधि सञ्चालन गर्ने बताएका थिए। उनले सोमबारदेखि कार्यालय सञ्चालन गर्ने बताएका थिए। तर त्यसअघि नै सीआईबीले कार्यालयमा पुगेर कागजात नियन्त्रणमा लिएको हो। 

सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले सीआईबीले यस विषयमा अनुसन्धान गरिरहेको बताए।