भदौमा नेपालले भारतलाई बेच्यो ५ अर्बको विद्युत्

Image

नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र एलडीसी), स्युचाटारले भदौ महिनामा भएको विद्युत् निर्यातको विवरण सार्वजनिक गरेको छ।

भदौमा नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय सम्झौतामार्फत भारतको हरियाणा तथा बिहार राज्यसँगै बंगलादेशमा र विद्युत् बजारमार्फत गरी दुई माध्यमबाट विद्युत् निर्यात गरेको हो।

उक्त अवधिमा दुवै माध्यमबाट गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात भएको छ। यसको कुल कारोबार रकम ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ छ।

भदौ महिनामा भएको कुल विद्युत् निर्यात मध्ये द्विपक्षीय सम्झौतामार्फत भएको निर्यातको हिस्सा बढी छ। साथै विद्युत् बजारमार्फत पनि उल्लेख्य मात्रामा विद्युत् निर्यात भएको छ।

भोटेकोसीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचना क्षति भएपछि हाल बंगलादेशतर्फ विद्युत् निर्यात बन्द भएको छ।

अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात पुन: सुरु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोधसमेत गरिसकिएको छ। नेपाल विद्युत् प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ।