नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोमा धकेल्न विभिन्न प्रकारका शक्ति सक्रिय रहेको दाबी गरेका छन्। संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उनले उक्त दाबी गरेका हुन्।
उनल भने, ‘नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्, देखिएरै गरेका छन्। आश्चर्य लाग्ने तरिकाले गरेका छन्।’ यस क्रममा उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीको नामै लिए। ‘हामीले देखेका छौँ- मौन अवधिभित्र बीबीसीले नेपाललाई झुट कुरा सम्प्रेषण गरेर, अल्मल्याएर, गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोसिस गर्यो, यो भन्न अप्ठ्यारो मान्न पर्दैन।’
यस्तै पूर्वप्रधानमन्त्री ओलीले गत वर्ष भदौमा भएको जेनजी आन्दोलनलाई षडयन्त्रपूर्ण उपद्रवको संज्ञा दिए।
उनले भने, ‘संविधान भनेको देशको मूल कानुन, त्यसअनुसार चल्ने चलाउने लोकतान्त्रिक विधि-प्रक्रिया, प्रणालीबाट चल्ने कुराहरूलाई तोड्नका लागि गत वर्ष भदौ २३–२४ को षड्यन्त्रपूर्ण उपद्रवको आयोजना गरियो नेपालमा।’ त्यसमा को–को संलग्न थिए भन्ने कुरा बिस्तारै खुल्दै गएको दाबीसमेत उनले गरे।
त्यसबारे खुल्दै गएका छन्, बोल्दै गएका छन्, छाप्दै गएका छन्, लेख्दै गएका छन्,’ उनले भने, ‘अहिले मैले धेरै केही भनिरहनु पर्दैन।’














