रुसविरुद्ध प्रतिबन्ध विधेयकमा ट्रम्पको हस्ताक्षर, जेलेन्स्कीले दिए धन्यवाद

Image

रुसविरुद्ध प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेकामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले धन्यवाद दिएका छन्। जुन विधेयको आधिकारिक नाम हो- रुस र इरानविरुद्ध प्रतिबन्ध लगाउने सन् २०२६ को लिन्डसे ओ. ग्राहम ऐन । यो विधेयक स्वर्गीय रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको नाममा राखिएको हो । गत जुलाई ११ मा बितेका सिनेटर ग्राहम युक्रेनका समर्थक र रुसविरुद्ध कडा प्रतिबन्धका वकालत गर्थे। उनले युक्रेनको भ्रमण पनि गरेका थिए ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो अत्यन्त महत्त्वपूर्ण कानुनमा हस्ताक्षर गर्नुभएकामा म राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिन्छु। यसको समर्थन गर्ने सम्पूर्ण सिनेटर र तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) का सदस्यलाई पनि म धन्यवाद दिन्छु। लिन्डसेको सम्झनाको सम्मान गर्ने सबैभन्दा राम्रो तरिका भनेको यस कानुनका प्रावधानहरूलाई पूर्ण र द्रुत रूपमा कार्यान्वयन गर्नु हुनेछ। र, युद्ध अन्त्य गर्न रुसलाई दबाब दिन मद्दत गर्ने सबैका लागि सबैभन्दा राम्रो पुरस्कार शान्ति हुनेछ। शान्ति – र यो युद्धले सिर्जना गरेका सबै समस्या र चुनौतीको अन्त्य।’

ट्रम्पले शुक्रबार हस्ताक्षर गरेको उक्त विधेयकले अमेरिकाका राष्ट्रपतिलाई रुसका तेल र प्राकृतिक ग्यासका प्रमुख ऊर्जा खरिददार पाँच मुलुकलाई १०० प्रतिशतसम्म भन्सार महसुल लगाउने अधिकार दिन्छ। जसमा भारत र चीन पनि पर्छन्।

यद्यपि विधेयकले स्वचालित रूपमा भारत वा चीनलाई १०० प्रतिशत शुल्क लगाउने छैन, यसले राष्ट्रपति ट्रम्पलाई त्यसो गर्न अधिकार दिन्छ।विधेयक अमेरिकाको संसदले यसअघि नै पारित गरिसकेको छ। ४८ पृष्ठको विधेयकमा रुसबाट आफ्नो प्राकृतिक ग्यास आवश्यकताको १५ प्रतिशतभन्दा कम आयात गर्ने र रुसमा आफ्नो निर्भरता कम गर्न काम गरिरहेका देशहरूका लागि छुट समावेश छन्।

यसका साथै विधेयकमा राष्ट्रपति भ्लादिमिर पुटिनका साथ रुसका वरिष्ठ सरकारी अधिकारी, बैंक तथा अन्य वित्तीय संस्थाविरुद्ध प्रतिबन्ध समावेश छन्। विद्यमान प्रतिबन्धबाट बच्न प्रयोग गरिने रुसका जहाजमा पनि प्रतिबन्ध लगाइएको छ।