प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू भेट्न पुगेका छन्। प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणका क्रममा सिङ्गो देश उनको साथमा रहेको सन्देश दिँदै कांग्रेस नेताहरूले भोटेकोशीको विपद्, जलवायु परिवर्तनको असर र हिमाली राष्ट्रहरूको समस्यालाई विश्वमञ्चमा सशक्त रूपमा उठाउन विशेष आग्रह गरेका छन्।
सोमबार प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनका सन्दर्भमा तयार पारेको अवधारणा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र नेता शर्मा सहभागी उक्त भेटवार्तामा प्रधानमन्त्रीले राष्ट्रसंघीय महासभामा उठाउनुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेण्डाबारे विस्तृत छलफल भएको थियो।
नेता शर्माका अनुसार भोटेकोशीमा आएको विनाशकारी विपद्लाई अन्तर्राष्ट्रियकरण गर्न र विश्वको ध्यान नेपालतर्फ आकर्षित गराउन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ। नेपालको विपद् र जलवायु संकटलाई अन्तर्राष्ट्रिय समुदायले आफ्नै पीडाका रूपमा महसुस गरुन् भन्नका लागि अमेरिकालाई टेक्सासको पीडा, युरोपेली मुलुकलाई सन् २००३ को घातक गर्मी, मध्यपूर्वलाई साउदी अरब र दुबईमा देखिएको मौसमी विपद् तथा भारतलाई टिस्टाको बाढी सम्झाउँदै विश्वव्यापी संवेदनशीलता जगाउन सुझाइएको शर्माले बताए।
नेपालले विश्वमा ०।०५ प्रतिशतभन्दा पनि कम कार्बन उत्सर्जन गर्ने भए तापनि जन्मकैदको सजाय पाएजस्तै गरी जलवायु विपद्को ठूलो मार खेप्नुपरेको यथार्थलाई संयुक्त राष्ट्रसंघको मञ्चमा तथ्य र प्रमाणसहित राख्न कांग्रेसले प्रधानमन्त्रीलाई आग्रह गरेको छ।
विश्वका अधिकांश अग्ला हिमशृङ्खलाहरू नेपालमै रहेकाले ‘विश्व जोगाउन पहिला हिमाल जोगाउनुपर्छ’ भन्ने मान्यताका साथ नेपालले साना र प्रभावित राष्ट्रहरूको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा नेताहरूले राखेका छन्। साथै, ठूला प्रदूषक राष्ट्रहरूसँग कूटनीतिक चातुर्यता र परिपक्वताका साथ सन् २०१५ को पेरिस सम्झौता कार्यान्वयनका लागि संवाद गर्नुपर्नेमा जोड दिइएको छ।
त्यस्तै, बाढीमा परी नागरिकले ज्यान गुमाउनुपरेको कारुणिक अवस्था र आफन्तको पहिचानका लागि अस्पतालमा डीएनए परीक्षण कुरिरहेका परिवारको मानवीय संवेदनालाई समेत राष्ट्रसंघको मञ्चमा राख्न सुझाइएको छ। प्रधानमन्त्रीको मुख्य सम्बोधनका साथै त्यहाँ हुने साइडलाइन वार्ता, द्विपक्षीय भेटघाट र कूटनीतिक लबिङमार्फत नेपालका पक्षमा विश्वव्यापी ऐक्यबद्धता जुटाउन कांग्रेसले प्रधानमन्त्रीलाई शुभकामनासहित ध्यानाकर्षण गराएको छ।














