अमेरिकाले नेपालका बाढीपीडितका निम्ति थप तीन करोड १० लाख अमेरिकी डलर (करिब चार अर्ब ७४ करोड रुपैयाँ) उपलब्ध गराउने भएको छ । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले मंगलबार अमेरिकाको न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटवार्ताका क्रममा यसबारे जानकारी गराएकी हुन् ।
उपविदेशमन्त्री हुकरले हाल बेपत्ता रहेका करिब ७० अमेरिकी नागरिकका परिवारलगायत नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति सहानुभूति पनि व्यक्त गरिन् ।
उनले आवश्यक नापअनुसार निर्मित स्थायी पुलहरूका निम्ति एक करोड अमेरिकी डलर (करिब डेढ अर्ब रुपैयाँ)को कोष उपलब्ध गराउने योजना रहेको बताइन् ।
“ती पुलहरू हामी अमेरिकी कम्पनीबाट खरिद गर्नेछौँ । बाढीबाट प्रभावित क्षेत्रहरूमा ती पुलले महत्त्वपूर्ण यातायात पूर्वाधारको पुनर्स्थापना गर्नुका साथै क्षेत्रीय कनेक्टिभिटीलाई सुदृढ पार्नेछन्,” अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले बाढीबाट प्रभावित समुदायका निम्ति खानेपानी, स्वच्छता र सरसफाइका साथै आश्रय, सुरक्षा, जीविकोपार्जनसम्बन्धी सहयोगका लागि थप ८० लाख डलर (करिब सवा अर्ब रुपैयाँ)को सहायता उपलब्ध गराउने योजनाको पनि घोषणा गरिन् ।
अमेरिकी विदेश मन्त्रालयले भविष्यमा विपद् पुनर्स्थापना प्रयासमा अझ प्रभावकारी रूपमा सहयोग पुर्याउन डिजाइन गरिएका अमेरिकामा निर्मित ड्रोनहरूका निम्ति एक करोड ३० लाख अमेरिकी डलर (करिब दुई अर्ब रुपैयाँ) उपलब्ध गराउने समेत बताइन् ।
यो कोषको घोषणासँगै नेपालको बाढीसम्बन्धी प्रतिकार्य तथा पुनर्लाभ कार्यमा अमेरिकाको कुल सहयोग तीन करोड ६० लाख डलर (करिब साढे पाँच अर्ब रुपैयाँ) नाघेको छ ।
“सहयोगको सर्वाधिक खाँचो भएका ठाउँको पहिचान गर्न र त्यहाँ सहायता पुर्याउन अमेरिकाले नेपालसँग निकट रूपमा सहकार्य गर्न जारी राख्नेछ,” अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताको कार्यालयले भनेको छ ।














