निरन्तर भइरहेको वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम बढेपछि सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै बिहीबारदेखि आगामी १२ असोजसम्म उक्त सडकखण्डमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार लगातारको वर्षाका कारण सडकखण्डमा पहिरो तथा ढुंगा खस्ने जोखिम बढेपछि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।
यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि रातिको समयमा आवागमन रोकिएको स्थानीय प्रशासनले जनाएको छ।
दोभान–सिद्धबाबा क्षेत्र सिद्धार्थ राजमार्गको जोखिमयुक्त सडकखण्डका रूपमा चिनिन्छ। वर्षायाममा यस क्षेत्रमा ढुंगा खस्ने, पहिरो जाने तथा सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
बिहीबार बिहान पनि सिद्धबाबा क्षेत्रमा ढुंगासहितको पहिरो खसेपछि केही समय सवारी आवागमन बन्द भएको थियो।
प्रशासनले वर्षाका कारण थप जोखिम निम्तिन सक्ने भएकाले यात्रु तथा चालकलाई तोकिएको समयको प्रतिबन्ध पालना गर्न आग्रह गरेको छ।













