२०सौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै छ । गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ । यस्तै, महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापामगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिएका छन् । उनले खेलाडीले राम्रो अभ्यास पाएकाले नतिजा सकारात्मक आउनेमा विश्वस्त रहेको बताए ।
यस्तै, जुडोमा निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ, विशेष विक र विकास विकले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । निशाले महिला ४८ केजीमुनि, देवकीमायाले ५२ केजीमुनि तथा विशेषले पुरुष ६६ र विकासले ६० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
कनोइङ स्लालमको पुरुष कायक एकलमा विजय माझी र आशिष रानामगर सेमिफाइनलमा पुगेका छन् । मंगलबार भएको हिट चरणमा विजयले २०२।०६ सेकेन्ड र आशिषले २११।८६ सेकेन्डको समय निकाल्दै क्रमशः १५औँ र १६औँ स्थान हासिल गरेका थिए ।
जारी संस्करणको एसियाली खेलकुदमा नेपालबाट विभिन्न विधामा १३५ जना खेलाडी सहभागी भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।














