गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

Image

 हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले शपथग्रहण गरेका छन् । 

बुधबार सिंहदरबारमा सभामुख डोल प्रसाद अर्यालसमक्ष सभापति पराजुलीले सपथ लिएका हुन् । हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्न समिति गठन गरिएको थियो ।

सपथपछि विशेष समितिका सभापति पराजुलीले बिपद् पूर्वतयारीका लागि पहिले भएका कामकारबाहीको समीक्षा गर्दै उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउने र विकासका पूर्वाधारहरूलाई जलवायु परिवर्तनसँग जुध्न सक्ने एवं सुरक्षित बनाउने विषयमा समितिले विस्तृत अध्ययन गर्ने जानकारी दिए । 

उनले विपद् जोखिम न्यूनीकरण गर्न सकिने गरी एक सशक्त प्रतिवेदन तयार पारी जनतालाई न्यायको अनुभूति गराउने प्रतिबद्धता जनाए ।

दसैँ–तिहारको बिदा र अधिवेशनको अन्तरालका कारण समयको चाप रहे पनि तथा समेट्नुपर्ने विषयहरू निकै बृहत् भएकाले तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्न अधिकतम प्रयास गरिने उनको भनाइ छ ।