सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सीमा नाकाहरुको अनुगमन गरी सो क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी कर्मचारीहरुलाई सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न निर्देशन दिएका छन्।
बिहीबार (असोज १५ गते) मधेस प्रदेशस्थित नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मातहत गण, गुल्म तथा बोर्डर आउट पोष्ट र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो निर्देशन दिएका हुन्।
अनुगमनका क्रममा महानिरीक्षक पौडेलले सम्बन्धित सरोकारवाला निकाय तथा सीमावर्ती स्थानीय बासिन्दासँग सीमा सुरक्षा एवं समसामयिक विषयमा हाल भइरहेका कामकारबाहीबारे जानकारी लिनुका साथै सो क्षेत्रमा कार्यरत कमाण्डरहरूलाई सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण तथा रोकथामलाई थप सुदृढ गर्दै उच्च सतर्कता, समन्वय र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिए।
सीमा ईलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणको लागि समयमा नै योजना बनाई सीमा अपराध तथा राजश्व चुहावट नियन्त्रण कार्यमा प्रभावकारी रुपमा परिचालित भई नतिजामुखी काम गर्न उनले निर्देशन दिए।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको समेत प्रभावकारी रुपमा संचालन गर्दै लानुपर्ने बताउँदै सीमामा बसोवास गर्ने स्थानीय वासिन्दाहरुसँग सुमधुर सम्बन्ध राख्दै सीमा वारपार गर्ने आम नागरिकहरुको सहजताका लागि समेत ध्यानमा राखी कार्य गर्नुपर्ने बताए।
उनले वर्षातको समयलाई मध्यनजर गर्दै बाढी तथा डुवान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरुलाई आवश्यक उद्धारका सामाग्रीसहित तयारी हालतमा रहन समेत निर्देशन दिए।
सोही क्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले धनुषा जिल्लाको सीमा ईलाकामा पर्ने जटही नाकाको समेत निरीक्षण भ्रमण गरी सो क्षेत्रका स्थानीय वासिन्दासँग भेटघाट गर्नुकासाथै सीमा अवस्था तथा शान्ति सुरक्षा लगायतका विषयमा जानकारी समेत लिएका थिए।














